


सन्तोष थापा/पर्वत १५ जेठ
नेपालको मानचित्रमा हेर्दा सानो जिल्लाहरु मध्ये चौथो नम्बरमा गनिन्छ पर्वत । जिल्ला भौगोलिक हिसावमा जति सानो छ केही बर्ष अघिसम्म जिल्लाको परिचय पनि त्यो भन्दा ठूलो थिएन तर पछिल्लो समयमा जिल्लाका हरेक तह र तप्कामा रहेका स्थानीयबासीहरु जागरुक बनेपछि जिल्लालाई राष्ट्रिय स्तरमा मात्रै होइन अन्तराष्ट्रिय स्तरमा समेत अग्रस्थानमा चिनाउन सफल भएका छन् ।
जिल्लामा कुनै कर्मचारी सरुवा भएर आउँदाका अनुभुतिहरु खोतल्दा कतिपय कर्मचारीहरु पर्वत भन्दा वित्तिकै जान नमान्ने सम्मका प्रसंगहरु उब्जिएका हुन्छन् । धौलागिरि अाचलको प्रबेश जिल्लाको रुपमा रहेको यस जिल्लामा सरुवा भएका कतिपय कर्मचारीहरु पर्वत आउन नमानेर पर्वत हुँदै म्याग्दी बाग्लुङ लगायतका जिल्लाहरुमा खटिएको पनि पाइन्छ । तर अहिले मुलुककै पहिचान बोकेका पर्यटकीय स्थलहरु बन्दै गएर जिल्लाको परिचय समेत थपिँदै गएपछि अहिले आकर्षण बढेको पाइन्छ ।
अहिले पछिल्लो समयमा पर्वत जिल्लाको परिचय दिने माध्यम बनेका छन् दुई नमुना पुल । भर्खरै मात्र निर्माण सम्पन्न भएको मुलुककै अग्लो र दोश्रो लामो कुश्माज्ञादी झोलुङ्गे पुल त्यस्तै अर्को नेपालकै पहिलो नमुना मोटरेवल पुल । एक बर्ष अगाडि सम्पन्न भएको दोविल्लादेखि पकुवा गाविस जोड्ने नेपालकै पहिलो नमुना मोटरेवल पुलले सबैको ध्यान यततर्फ तान्ोको थियो । नेपालमै पहिलो पटक स्वदेशी प्रबिधि प्रयोग गरेर हिमाली तथा पहाडी क्षेत्रका राजमार्गका लागि परिक्षणका रुपमा मोदिखोलामा दुई करोड ५५ लाख रुपैंयामा उक्त पुलको निर्माण गरिएको हो । पुलले दुई दर्जन गाविसलाई जोडेको छ । अहिले बर्षायाममा पनि सहज रुपमा ग्रामिणक्षेत्रमा यातयात साचालनमा आउने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश पौडेलले बताए । केही समय अगाडि बेलायती सांसदको टोली समेत पुल अवलोकनका लागि आएको थियो पुलको लम्बाई ७२ मिटर छ ।
त्यस्तै गत फागुनमा मात्रै तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर अग्लो पुल निर्माण भई साचालनमा आएको छ । पुल अबलोकनका लागि दैनिक दुई हजार भन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । नेपाल सरकारको सहयोगमा निर्माण भएको पुल निर्माण थालनी भएको दुई बर्षमा साचालनमा आएको हो । यो पुलले पर्वत जिल्लालाई सर्बत्र परिचित गराउन सफल भएको छ । पुल अवलोकनका लागि मुलुकका विभिन्न स्थानका महिला समुहहरु विद्यालय लगायतको टोली आउने गरेका छन् । पर्यटकीय आकर्षण बढ्नुको अलवा स्थानीय व्यापार व्यावसाय प्रबद्र्धनमा समेत टेवा पुगेको छ ।
एकबर्ष भित्रकै अवधिमा निर्माण सम्पन्न भएका यी दुई पुलसँगै छिमेकी बाग्लुङ जिल्लाको दक्षिणबर्ती दर्जन गाविसलाई पर्वत सदरमुकाम कुश्माबजारसँग प्रत्यक्ष सम्बन्ध जोड्ने गरी अर्को अग्लो पुल बन्ने तयारी भएको छ । कुश्माको गोपाङघाट गुम्बादेखि बाग्लुङको बलेवा विमानस्थल जोड्ने गरी तीनसय ५० मिटर लम्बाई र दुई सय मिटरको उचाईमा पुल निर्माण कार्य तयारी भएको हो । पर्वत उद्योग बाणिज्य संघको पहलमा निर्माण कार्य थालनी गरिएको उक्त पुल निर्माणका लागि पर्वत र बाग्लुङ जिल्लाका संविधानसभा सभाषद् व्यापारी व्यावसायीहरु समेतको टोलीले सम्बन्धित निकायमा मागप्रस्तावपत्र पेश गरिएको उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
पहिलोपटक निर्माण भएको मुलुककै अग्लो पुलको पहिचान बोकेको पुलको चर्चा नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत उत्तिकै छ । तर बाहिरबाट आउने कतिपय पर्यटकहरुले ुगुगल म्यापुमा पर्वत जिल्लालाई नभेटेकोमा दुःख व्यक्त गरे । म्यागासेसे पुरस्कार विजेता महावीर पुनको सहयोगमा पर्वतको दुर्लुङ्ग गाविसमा ताररहित इन्टरनेट सेवा जडानका लागि आएका सुमन ज्ञवालीले आफुले पर्वत जिल्ला गुगल म्यापमा नभेटेकोमा दुःख व्यक्त गरे । कतिपय अपरिचित व्यक्तिहरु सोही नक्साको आधारमा गन्तव्यमा पुग्ने प्रष्टाउँदै आफुले पर्वत जिल्लालाई नभेटेपछि सास्ती भोग्नुपरेको गुनासो गरे ।
पर्वत पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष शिवशर्मा पौडेलले पर्यटनबर्ष २०११ लाई लक्षित गरेर विभिन्न पर्यटकीय आकर्षण झल्किने कार्यक्रमहरु साचालन गर्ने योजनामा रहेको बताए । केही समयमानै पर्यटन बोर्डको सहकार्यमा मुलुककै पहिचान राख्ने पर्यटकीय तथा धार्मिक स्थललाई लक्षित गरेर विशेष कार्यक्रम साचालन गरिने उनले बताए । यसरी निर्माण भएका पुललाई माध्यम बनाएर जिल्लाको ग्रामिण भेगका कृषक सर्वसाधारण संगै छिमेकी जिल्ला बाग्लुङको दुर्गमका सर्वसाधारणहरु समेत लाभान्वित बनेका छन् ।
पर्वतको विकासका लागि यहँँका स्थानीयवासी देखि लिएर संविधानसभाका सभासद् समेत जिल्लालाई परिचित गराउने अभियानमा जुटेका छन् । योजना अनुरुप पुल निर्माण भएमा सदरमुकाम कुश्मावजार धौलागिरीकै प्रमुख व्यापारीक केन्द्र वन्ने कुृश्माबजारका व्यावसायी नेत्रपराजुलीले बताए ।
विश्वकै ठूलो शालिग्राम शिला
पर्वत गुल्मी र स्याङजा जिल्लाको संगममा रहेको विश्वकै ठूलो शालिग्रामले समेत यस जिल्लाको पहिचान बढाएको छ । प्रचारप्रसारका अभावमा ओझेलमा पर्दै गएपछि स्थानीयबासीहरु संरक्षण र पहिचानको अभियानमा जुटेका छन् ।
पर्वतको दक्षिणी शालिग्राम गाविसमा रहेको शालिग्ा्राम शिला तथा सेतीवेणीधाममा रहेको शिलालाई धार्मिक दृष्टिले विष्णु भगवानको अवतारको रुपमा मानिदै आएको छ । पौराणीक कालदेखिनै विष्णुको अवतारको रुपमा मानिदै आएको शालिग्राम आन्तरीक तथा वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र वनेको छ । हिन्दु धर्म अनुसार शिलालाई विष्णुको रुपमा पुजा गरिदै आएको छ । शिलाको दर्शनका लागि देश तथा विदेशवाट दर्शनार्थी तथा पर्यटकहरु आउने गर्दछन् ।
सेतीवेणीमा हरेक एकादशी औशी सक्रान्ति लगायतका चाडपर्वहरुमा धुमधाम मेला लाग्ने मात्र नभई धार्मिक आस्था राख्नेहरु दैनिक पुजापाठ गर्ने गर्दछन् । मेला भर्नका लागि विशेषगरी पर्वत स्याङजा र गुल्मीका हजारौ दर्शनार्थीहरु आउने गर्दछन् भने छिमेकी जिल्लावाट आउनेहरुको भिड पनि उत्तिकै हुने गर्दछ । पर्यटन वर्ष २०११ को आरम्भसँगै यस क्षेत्रलाई व्यापक रुपमा प्रचार प्रसार गर्न सके तिनवटै जिल्लाको आर्थिक विकास गर्न सकिने संरक्षण समितिका नविन पाण्डेको भनाई छ । यस क्षेत्रकै संरक्षणका लागि आर्थिक संकलन गर्न स्थानीयवासीहरुले महायज्ञ समेत संचालन गरेका छन् । महायज्ञवाट एक करोड आर्थिक संकलन भएको साचालक समितिका संयोजक खगेन्द्र तिवारीले जानकारी दिए ।
तिनवटै जिल्लाका वुद्धिजिवि राजनीतिकर्मी समाजसेवी शिक्षक कर्मचारी व्यापारी संचारकर्मी सन्तमहन्त तथा धार्मिक आस्थावान व्यक्तित्वहरुलाई पर्यटकिय विकासका लागि सहयोग पुर् याउँन समेत संरक्षण समितिले माग गरेको छ । यो क्षेत्रमा शैक्षिक संस्था व्यापारीक केन्द्र तथा धार्मिक तथा वैदेशिक पर्यटकहरुका लागि मनोराजन र ट्रेकीङ्गको सुविधा प्रसस्त भएकाले थुप्रै पर्यटकहरुलाई यस क्षेत्रमा भित्र्याउन सकिने स्थानीय व्यापारी वासुदेव पौडेलले वताए ।
छोटो समयमै यस क्षेत्रको विकास गर्न शालिग्रामसँग तिनवटै जिल्ला सदरमुकामदेखि सोझो मोटरवाटो निर्माण गर्न पहल गरिदिन माग गरेका छन् । यस क्षेत्रमा रहेका मठ मन्दिरहरुको संरक्षण सम्वद्र्धन र वाह्य पर्यटकहरुलाई भित्र्याउने खालका संरचनाहरु निर्माणमा सरकारले पहल गर्न समेत माग गरिएको छ ।