पर्वत २८ कात्तिक
पर्वतको दक्षिणी रानीपानी गाविसमा खानेपानीको समस्या पैदाभएपछि लामो समय देखि कुवा र आहालको दुषित पानी उपभोग गर्दै आएका छन् । गाउँबाट नजिकै भएर अविरल बग्ने कालीगण्डकी त छ तर गाउँमा भने खानेपानीको समस्याले काकाकुलको नियति भोग्न बाध्य छन् स्थानीयबासीहरु । उक्त गाविसका १ देखि ९ वडा सवैमा खानेपानीको समस्या छ । पानीको मुहान नहुँदा सर्बसाधरणहरुले आकाशे पानी र वर्षा संगै मुल उम्रने पानीमा निर्भर हुनु परेको छ ।
खानेपानीको निश्चित स्रोतको अभावले गर्दा सर्वसाधरणहरुलाई पानीको समस्या झनै जटिल बन्दै गएको हो । उनीहरुले बर्षातको समयमा खहरे र जरुवाको पानी संकलन गरेर प्रयोग गर्ने गरेका छन् भने कुनै बेला भैसी बस्ने पोखरी आहाल र कुवाको पानी समेत उपभोग गर्न बाध्य हुन्छन् उनीहरु । गाउँभरी धारा त ठडिएका छन् तर धारामा निरन्तर रुपमा पानी नआएपछि यस्तो समस्या उत्पन्न भएको हो ।
पानीको समस्या टार्न स्थानीयबासीहरुले आकाशे पानी संकलन गर्ने घैटा निर्माण गरेका छन् भने कतिपयले घरमा ट्याङकी राखेर जरुवाको पानी संकलन गरी एक हप्ता सम्म पुर् याउने गरेको स्थानीय देवी शर्माले बताउनुभयो ।
खानेपानीको समस्या समाधान गर्न गाउँलेहरु एक जुट नहुँदा यस्तो अबस्था आईपरेको स्थानीय हरि न्यौपानेको भनाई छ । 'गाउँ विकासमा भित्रिएको रकम कनिका छराइ छ सवै गाउँले एकजुट भएर लाग्ने हो भने केही त जुटाउन सकिन्थ्यो नि' न्यौपानेले भन्नुभयो । गाउँलेहरु जुटेर लाग्ने हो भने पनि पानीको समस्या हट्छ । उनीहरुले गुल्मी जिल्लाको जयरखानी गाविसको भुल्केबाट मात्र पानी ल्याउन मिल्ने आंकलन गरेका छन् ।
No comments:
Post a Comment